अध्यक्षको सन्देश

कौडिन्य सगोत्रीय आचार्यहरू नेपालका ६७४३ वडा, ७५३ स्थानीय तह, ७ प्रदेश,  सङ्घ र प्रारम्भिक रिपोर्ट अनुसार विश्वभर  सबै मुलुकमा छरिएर रहेका छन् । इतिहास काल देखि नै गौरवशाली इतिहास बोकेका आचार्यहरूको वंश, परम्परा, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्दै यसको संरक्षण गर्नुपर्ने हाम्रो प्रमुख दायित्व हो ।
विश्वभर सुख–दुःखमा रमाई रहनुभएका आचार्यहरूको कूल पूजा गर्ने, गोठ धूप गर्ने, दसैँ, तिहार, असार १५, नाग पञ्चमी, रक्षा बन्धन, नयाँ वर्ष मनाउने, पूजापाठ, काजक्रिया लगायतका धर्म–संस्कृतिको संरक्षण गर्दै प्रभावकारी बनाउने कार्य गर्नु हामी सबै आचार्यहरूको कर्तव्य हुनुपर्छ भन्ने लाग्छ ।
समाज स्थापना हुँदाका बखत चीनका लागि नेपालका पूर्व राजदूत राजेश्वर आचार्य ज्यूले नेतृत्व प्रदान गर्नुभएको आचार्य बन्धु समाज नेपालको पछिल्लो कार्यकाल सम्म आई पुगेको छ । त्यसपश्चात्   उद्योगपति कृष्ण आचार्य, पूर्व महालेखापरीक्षक भानु प्रसाद आचार्यले नेतृत्व प्रदान गरिसक्नुभएको छ ।
कौडिन्य सगोत्रीय अग्रजहरूले विभिन्न तवरले वंशावली प्रकाशन गर्ने, मठ मन्दिरहरू निर्माण गर्ने लगायतका राम्रा कामहरू धेरै नै गर्नुभएको प्रमाणहरू हाम्रा सामु देखिई रहेका छन् । उहाँहरूले निस्वार्थ रूपमा गर्दै आउनुभएको विभिन्न क्रियाकलापहरूको प्रशंसा जति गरे पनि कम नै हुन्छ । ‘एक थुकी सुकी सय थुकी नदी’ भने झैँ झापा, खोटाङ, काठमाडौँ, कास्की, दाङ, प्युठान, रोल्पा, रुकुम, मोरङ, सुनसरी, काभ्रे, रौतहट, सिँधुली, गोरखा, चितवन, सर्लाहीलगायतका स्थानमा छुट्टाछुट्टै पारिवारिक, जिल्लागत आचार्यहरूका नाममा सञ्चालित आचार्यहरूका संस्थालाई एकत्रित गर्दै विश्वभर रहेका गतिविधिलाई एउटै छातामुनि आबद्ध गर्नु-गराउनु हाम्रो पहिलो अभिप्राय रहेको छ ।
हामीले काठमाडौँमा निर्माण गर्न लागेको ‘आचार्य सेवा सदन’का लागि विश्वभरका  बन्धुहरूको सहयोगको जरुरी रहेको महसुस गरेका छौँ । हामी चाहन्छौँ, आचार्य बन्धु समाज नेपाल विश्वभर रहेका आचार्यहरूले मेरो समाज भन्ने वातावरण बनोस्, सबैको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित आउँदा दिनमा सबै कौडिन्य सगोत्रीय आचार्यहरू एकताबद्ध भएर अगाडि बढ्ने हाम्रो लक्षलाई सबैले रचनात्मक रूपमा साथ दिनुहुनेछ भन्ने आग्रहसहित सदस्यता लिनुहुन विशेष आह्वान गर्दछौँ ।